विश्व वातावरण दिवसमा शुक्लाफाँटामा चरा पर्यटन प्रवर्द्धनमा जोड



कञ्चनपुर, जेठ । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत चराको संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीलाई निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउनुका साथै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे जानकारी गराइएको थियो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको अनुपम धरोहर भएको बताउनुभयो । उहाँले चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सबै पक्षको ध्यान आवश्यक रहेको बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले शुक्लाफाँटामा ४६० भन्दा बढी प्रजातिका चरा अभिलेख गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शिकारी ताल क्षेत्र चराको महत्वपूर्ण बासस्थानका रूपमा परिचित छ । उक्त क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

उहाँले सिमसार क्षेत्रको संरक्षणबाट मात्र जलचर तथा प्रवासी चराको बासस्थान सुरक्षित रहने उल्लेख गर्दै चरा संरक्षण र पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चरा पर्यटन प्रकृतिमा आधारित दिगो पर्यटनको महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो । उहाँले वन, वन्यजन्तु र चराको संरक्षणबाट पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने धारणा राख्नुभयो ।

चराविद् हिरुलाल डगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यमध्ये एक भएको उल्लेख गर्दै यहाँ पाइने दुर्लभ, सङ्कटापन्न तथा प्रवासी चराले अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्ने सम्भावना रहेको बताउनुभयो । उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके चरा पर्यटनले स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी, पर्यटन व्यवसायी तथा प्रकृतिप्रेमीको सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न प्रजातिका चराको अवलोकन गर्नुका साथै तिनको संरक्षण र पर्यटन विकासका सम्भावनाबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्