अण्डाको फार्म समर्थन मूल्य पुनःवृद्धि, खुद्रा मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ



चितवन,जेठ २३ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको सुझावका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो। नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।

सङ्घले तोकिएको मूल्यमा कारोबार गर्न सबै व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ। गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो।

पछिल्लो एक महिनामा अण्डाको मूल्य उल्लेखनीय रूपमा बढेको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा हाल ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो। यस अवधिमा ठूलो अण्डाको मूल्य ४९० रुपैयाँबाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० रुपैयाँबाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० रुपैयाँबाट ३ हजार रुपैयाँ पुगेको छ।

सङ्घका अनुसार पछिल्ला केही सातायता उत्पादन घट्नु र बजार माग बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन्। दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै गएकाले मूल्य समायोजन आवश्यक भएको अध्यक्ष पोखरेलले बताउनुभयो।

हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने गरेको जनाउँदै उहाँले नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको बताउनुभयो। लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको उहाँको भनाइ छ।

नेपालमा पर्यटक आगमन वृद्धि हुनु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुले पनि मूल्य सुधारमा सहयोग पुगेको सङ्घले जनाएको छ। यद्यपि उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन तथा नीतिगत सहयोगका लागि सरकारी निकायको थप समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्