नेपालमा तापलहरको प्रभाव बढ्दो, तराईका अधिकांश जिल्लामा उच्च सतर्कता
काठमाडौं,जेठ २३ । नेपालमा तापलहरको प्रभाव तीव्र बन्दै गएको छ। यसको असर पूर्वदेखि पश्चिमसम्म फैलिएका तराईका जिल्लाहरूमा विशेष रूपमा देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार मध्यतराईको बुटवल–भावनीपुर क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेको छ भने भैरहवामा पनि ४० डिग्री सेन्टिग्रेड तापक्रम रेकर्ड गरिएको छ।
विभागका अनुसार रामेछापको मन्थलीमा ३६.५, बाराको सिमरामा ३५, पोखरामा ३४, दाङमा ३६, नेपालगन्जमा ४१, वीरेन्द्रनगरमा ३७, धनगढीमा ३६.२, काठमाडौँमा ३१, विराटनगरमा ३३.३, झापामा ३३.४, जुम्लामा २७ र जनकपुरमा ३७ डिग्री सेन्टिग्रेड आसपासको अधिकतम तापक्रम मापन गरिएको छ।
विभागले आगामी केही दिन तापलहरको प्रभाव अझ बढ्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुन भित्रिने समय नजिकिँदै गर्दा अत्यधिक तापक्रम वृद्धिसँगै देशका विभिन्न क्षेत्रमा तापलहरको अवस्था सिर्जना भएको विभागको भनाइ छ।
जेठ १९ गतेयता मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा ३७ डिग्री सेन्टिग्रेड वा सोभन्दा बढी तापक्रम मापन भइरहेको छ। विशेषगरी लुम्बिनी प्रदेशका केही स्थानमा तापक्रम ३९ डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेको जनाइएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी एक सातासम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम उच्च रहने सम्भावना छ। बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी तथा पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा तापलहरको प्रभाव बढी रहने अनुमान गरिएको छ। कञ्चनपुर, कैलाली, चितवन, सुनसरी, मोरङ र झापामा पनि तापलहर उच्च हुन सक्ने विभागले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले तापलहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बेहोस हुनेसम्मका समस्या देखिन सक्ने बताएका छन्। अत्यधिक गर्मीले मांसपेशी दुख्ने, वान्ता हुने तथा अन्य स्वास्थ्य जोखिम पनि बढ्न सक्ने चेतावनी दिइएको छ।
तापलहरबाट बच्न विभागले चर्को घाममा बाहिर ननिस्कन, सकेसम्म शीतल स्थानमा बस्न, हल्का सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न तथा टोपी प्रयोग गर्न सुझाव दिएको छ। साथै प्रशस्त मात्रामा पानी र झोलिलो पदार्थ सेवन गर्न तथा स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरिएको छ।
मौसमविद्हरूका अनुसार आउँदो सातादेखि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि त्यसले तत्काल तापक्रममा उल्लेख्य कमी ल्याउने सम्भावना भने कम रहेको छ।

