दशक बित्दा पनि बनेनन् काठमाडौँका तीन आकासे पुल, नवौँ पटक म्याद थप्ने तयारी
काठमाडौं,जेठ २३ । काठमाडौँको बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल ठेक्का सम्झौता भएको झण्डै एक दशक बित्दा पनि सम्पन्न हुन सकेका छैनन्। २०७४ सालमा सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थपिसकिएको छ भने नवौँ पटक म्याद थप्ने तयारी भइरहेको छ।
काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। सम्बन्धित निकायले असारभित्र निर्माण सम्पन्न हुने दाबी गरे पनि यसअघि पटक–पटक म्याद थपिँदा परियोजना लामो समयदेखि अलपत्रजस्तै बनेको छ।
ती पुल निर्माण नहुँदा व्यस्त चक्रपथ क्षेत्रमा पैदल यात्रु जोखिम मोलेर सडक पार गर्न बाध्य छन्। पूर्वाधार विज्ञहरूले कमजोर नियमन, ठेकेदारको ढिलासुस्ती र राजनीतिक प्रभावका कारण सार्वजनिक पूर्वाधार निर्माणमा बेथिति बढेको टिप्पणी गरेका छन्।

