सेटिङ र बिचौलियातन्त्रको अन्त्य हुँदैछ : सञ्चारमन्त्री तिमिल्सिना
नुवाकोट,जेठ २३ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको दाबी गर्दै सरकारी निकायमा जरा गाडेको ‘सेटिङ’ संस्कृति र बिचौलियातन्त्रको प्रभाव क्रमशः समाप्त हुँदै गएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। विगतमा सरकार र मन्त्रीहरूलाई प्रभावमा पारेर निर्णय गराउने बिचौलियाहरूको भूमिका कमजोर बन्दै गएको उल्लेख गर्दै उनले राजनीतिक संस्कारको परिवर्तन वडा तहबाटै सुरु हुनुपर्ने धारणा राखे।
“सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,” उनले भने, “राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले व्यवहारबाटै देखाउनुपर्छ।”
मन्त्री तिमिल्सिनाले राजनीति व्यक्तिगत स्वार्थ वा पद प्राप्तिको माध्यम नभई राष्ट्रलाई सही दिशा दिने साधन हुनुपर्ने बताए। विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको दाबी गर्दै उनले विकासका अवसरमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरे।
उनले शक्ति, पहुँच र प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने पुरानो अभ्यास अन्त्य भएको दाबी गर्दै आमनिर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकार लागिरहेको बताए। नागरिकका अपेक्षा, गुनासा र आकाङ्क्षालाई केन्द्रमा राखेर काम भइरहेको उनको भनाइ थियो।
सरकारको मूल्याङ्कन तत्काल देखिने परिणामका आधारमा मात्र नभई उसले लिएको दिशा, निर्णय र कार्यपद्धतिका आधारमा हुनुपर्ने उनको तर्क थियो। साथै उनले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताए।
अधिवेशनमा सहभागी कार्यकर्तालाई आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गर्दै उनले गुट, समूह वा प्यानलको राजनीतिले दलको छवि धुमिल बनाउने चेतावनी दिए।जिल्ला अधिवेशनबाट सहमतिका आधारमा सक्षम नेतृत्व चयन हुने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङका साझा समस्या तथा विकासका मुद्दा संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। नेतृत्व समस्या होइन, समाधानको माध्यम हुनुपर्ने उल्लेख गर्दै उनले समस्या समाधान गर्ने क्षमता भएका व्यक्ति नै सफल नेतृत्वकर्ता बन्न सक्ने बताए।

