रास्वपाको ३७ जिल्लामा आज अधिवेशन, महाधिवेशनको तयारी तीव्र
काठमाडौं, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप आज देशका ३७ जिल्लामा जिल्ला अधिवेशन आयोजना गर्दैछ। पार्टीको केन्द्रीय समितिले जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार विभिन्न प्रदेशका जिल्लामा अधिवेशन हुन लागेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार आज कोशी प्रदेशका नौ, मधेस प्रदेशका दुई, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका पाँच, लुम्बिनी प्रदेशका आठ, कर्णाली प्रदेशका दुई तथा सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अधिवेशन हुँदैछन्।
आज झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा अधिवेशन हुने कार्यक्रम छ।
पार्टीले आइतबार थप २९ जिल्लामा अधिवेशन सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछन्।
विशेष परिस्थितिका कारण बाराको जिल्ला अधिवेशन भने जेठ २६ गतेका लागि तय गरिएको छ। रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिने पार्टीको योजना छ।
महामन्त्री बुर्लाकोटीका अनुसार जेठ २६ गतेदेखि सातै प्रदेशको प्रदेश अधिवेशन पनि सुरु हुनेछ, जसको सुरुआत बागमती प्रदेशबाट गरिनेछ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले देशभर संगठन विस्तार र नेतृत्व चयनको प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

