तीन तहका सरकारबीच समन्वय गरेर कानुन निर्माण गर्न सभामुख अर्यालको जोड



टीकापुर, जेठ २३ — सभामुख डोलप्रसाद अर्याल ले सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय, सहयोग र सहकार्यलाई सुदृढ गर्दै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।

अन्तर व्यवस्थापिका मञ्चद्वारा टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अर्यालले सङ्घीय संसद्, प्रदेशसभा तथा स्थानीय तहबीच नबाझिने गरी कानुन निर्माण हुनुपर्ने बताउनुभयो। तीनै तहका सरकारले बनाउने कानुनबीच तालमेल कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आपसी सहकार्यबाट मात्रै जनताका अपेक्षा सम्बोधन गर्न सकिने धारणा राख्नुभयो।

उहाँले कानुन निर्माण प्रक्रियामा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कानुन कार्यान्वयन गर्ने वर्गलाई निर्माण प्रक्रियामा सहभागी नगरिँदा कार्यान्वयनमा समस्या देखिने गरेको उल्लेख गर्दै सम्बन्धित समुदाय र सरोकारवालासँग पर्याप्त परामर्श र सहकार्यपछि मात्र कानुन बनाउनुपर्ने बताउनुभयो।

सभामुख अर्यालले सङ्घीयताको मूल मर्म अधिकारलाई जनताको घरदैलोसम्म पुर्‍याउनु भए पनि त्यसअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्नुभयो। “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिए पनि अझै जनताले पाउनुपर्ने अधिकार पूर्णरूपमा स्थानीय तहसम्म पुग्न सकेको छैन,” उहाँले भन्नुभयो।

उहाँले सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सबै तहका सरकार र व्यवस्थापिकाबीच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्