औषधि अभाव हुन नदिन मन्त्री मेहताको निर्देशन
काठमाडौँ, जेठ २३ — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका क्यान्सरलगायत अत्यावश्यक औषधिको आपूर्ति तथा व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
औषधि व्यवस्था विभागको अनुगमनपछि मन्त्री मेहताले औषधिको अभाव हुन नदिन आवश्यक कदम चाल्न तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो।
उहाँले औषधि आपूर्ति र वितरणको अनुमति प्राप्तिका लागि निवेदन दिएका तर हालसम्म अनुमति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशन दिनुभयो।मन्त्री मेहताले विभागको नियमन क्षमता सुदृढ बनाउन सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै विभागलाई प्रभावकारी बनाउन तत्काल आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह गर्नुभएको छ।
त्यसैगरी, सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका गतिविधि तथा कामकारबाहीबारे मन्त्री मेहतालाई जानकारी गराउनुभएको थियो।

