आर्थिक मञ्चबीच सेन्ट पिटर्सबर्ग नजिकै २५ ड्रोन खसालिएको रूसको दाबी



रुस,जेठ २३ । रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ । मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको समयमा उक्त कारबाही गरिएको रूसी अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही अझै जारी रहेको बताएका हुन् ।

यसअघि बुधबार युक्रेनी ड्रोनले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिन भएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधनपछि सुरु भएको मञ्च शनिबार सम्पन्न हुँदैछ ।

यता, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप नौ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ ।
रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा एकअर्कामाथि हुने ड्रोन आक्रमण तीव्र बन्दै गएका छन् । अमेरिका नेतृत्वको कूटनीतिक प्रयासबाट युद्ध अन्त्य गर्ने प्रयास प्रभावकारी हुन नसकिरहेका बेला दुवै पक्षबाट हुने यस्ता आक्रमण बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्