न्यायिक कार्यसम्पादन प्रभावकारी बनाउन तादीमा अन्तरक्रिया कार्यक्रम



नुवाकोट,जेठ २३ । नुवाकोटको तादी गाउँपालिकामा न्यायिक कार्यसम्पादन, व्यवस्थापन तथा सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा नुवाकोट जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख सुवु तामाङलगायतको विशेष उपस्थिति रहेको थियो।

अन्तरक्रियामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, ग्रिन तारा फाउण्डेशन, रुडेक नेपालका प्रतिनिधि, मेलमिलापकर्ताहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय नागरिक समाजका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, उपाध्यक्षहरू तथा मेलमिलापकर्ताबीच न्यायिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउने विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले स्थानीय तहमा हुने विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्