नेपाल शिक्षक संघ नुवाकोटको १७औँ पूर्ण बैठक सम्पन्न, सदस्यता नवीकरणलाई तीव्रता दिने
नुवाकोट, जेठ २३ – नेपाल शिक्षक संघ नुवाकोटको १७औँ पूर्ण बैठक शनिबार सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण तथा शिक्षकका हकहितसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकमा आर्थिक वर्ष २०८३ का लागि सदस्यता नवीकरण तथा प्याड वितरण गर्ने, आगामी भदौ मसान्तभित्र सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गर्ने तथा स्थानीय समितिका पदाधिकारीहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, स्थानीय तथा जिल्ला स्तरमा महासंघ गठनका लागि आवश्यक पहल गर्ने र बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको उचित व्यवस्थापनका लागि सरकारसँग जोडदार माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकमा नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडा, संघका संरक्षक रामबहादुर थापा, जिल्ला कार्यसमितिका पदाधिकारी, स्थानीय अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।
नेपाल शिक्षक संघ नुवाकोटले बैठकको निमन्त्रणा स्वीकार गरी उपस्थित भएका सबै अतिथि तथा सहभागीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

