छहरे-टोखा सडकखण्डमा मोटरसाइकल जोगाउँदा माइक्रोबस दुर्घटना, केही यात्रु घाइते
काठमाडौं, जेठ २३ — नुवाकोटको दुप्चेश्वरबाट काठमाडौंतर्फ जाँदै गरेको एक इभी माइक्रोबस टोखा क्षेत्रमा दुर्घटनामा परेको छ।
शनिबार बा प्र ००१ ज ०१२६ नम्बरको माइक्रोबसले बाटोमा आएको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको कारसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबसमा सवार केही यात्रु घाइते भएका छन्।घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकललाई बचाउने क्रममा चालकले अचानक सवारी मोड्दा माइक्रोबसको नियन्त्रण गुमेको थियो। त्यसपछि माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ।
दुर्घटनापछि घाइते यात्रुको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

