रास्वपा नुवाकोटको नेतृत्वमा नयाँ टोली : रामेश्वर गजुरेल सभापतिमा निर्वाचित



नुवाकोट, जेठ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। उत्साहपूर्ण प्रतिस्पर्धाबीच सम्पन्न निर्वाचनको अन्तिम ३२५ मत गणनापछि रामेश्वर गजुरेल भारी मतान्तरसहित जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो। त्यसो त गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती चरणमै पार्टीको पक्षमा उभिएर नुवाकोटको नेतृत्व लिएका ब्यक्ति हुन।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा गजुरेलले २५७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी शरण महतले ३७ मत र राजु लामिछानेले २८ मत प्राप्त गर्नुभयो।

उपसभापतिमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित निर्वाचित हुनुभयो। सो पदमा सुनिमा थिङ तामाङले ८४, उमेश पाठकले २३ र नारायण भण्डारीले २० मत प्राप्त गर्नुभएको थियो।

सचिव पदमा बसन्त धिताल १९४ मतसहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी शिवराज लामिछानेले ११६ मत प्राप्त गर्नुभयो। समावेशी तर्फ जनजाति सदस्यमा छेपोन तामाङ १७२ मतसहित निर्वाचित हुनुभयो। प्रकाश तामाङले ६४ र लालबहादुर तामाङले ५५ मत प्राप्त गर्नुभयो।महिला सदस्यतर्फ लक्ष्मी पाण्डे २५७ मत, जानुका सापकोटा १८६ मत र राधिका रिमाल १४० मतसहित निर्वाचित हुनुभयो। मनिता खनालले ११५ मत प्राप्त गर्नुभएको थियो।

खुला सदस्यतर्फ विपना पाण्डे १२८ मत र सुभाष भण्डारी ९७ मतसहित निर्वाचित हुनुभयो। अन्य उम्मेदवारहरूमा दिलबहादुर शाक्यले ६९, भाइराम पोखरेलले ५१, सोमेश लामाले ४९, गोविन्द लामिछानेले ४९, दीपक रिजालले ४५, नलराज अधिकारीले ३३, रुपेश सिंह राजपुतले २७ तथा विष्णुप्रसाद अधिकारीले २३ मत प्राप्त गर्नुभएको थियो।

जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा नुवाकोटले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान र आगामी राजनीतिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले पार्टीलाई जिल्लाभर सुदृढ बनाउँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच अधिवेशन सम्पन्न भएपछि गजुरेलले सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता तथा पार्टीका विभिन्न तहका समितिलाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले तदर्थ जिल्ला समिति, पालिका समिति, वडा समिति, संगठन विभाग, प्रदेश तथा केन्द्रीय नेतृत्व र निर्वाचन समितिले अधिवेशन सफल बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

गजुरेलले २०७९ भदौ ५ गते तदर्थ समितिको सभापतिको जिम्मेवारी सम्हाल्दादेखि हालसम्मको यात्रालाई चुनौतीपूर्ण तर उपलब्धिमूलक रहेको उल्लेख गर्दै प्रतिनिधिहरूले व्यक्त गरेको विश्वासलाई अत्यन्त जिम्मेवारीपूर्ण रूपमा ग्रहण गरेको बताउनुभयो।

उहाँले पार्टीभित्रको अनुशासन, सहकार्य र परिणाममुखी कार्यशैलीलाई थप सुदृढ बनाउँदै जनउत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “पार्टीलाई अझ उचाइमा पुर्‍याउन म र मेरो नेतृत्वको समिति पूर्ण रूपमा प्रतिबद्ध रहनेछ,” गजुरेलले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

रास्वपा नुवाकोटको पहिलो जिल्ला अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ भने नवनिर्वाचित नेतृत्वबाट रचनात्मक र उपलब्धिमूलक कार्यकालको आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्