इनार सरसफाइ गर्ने क्रममा एक जनाको मृत्यु
मकवानपुर,जेठ २४ । मकवानपुरको बागमती गाउँपालिका–८ साततलेमा इनार सरसफाइ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।स्थानीय कालीमाया भोलनको घर पछाडि रहेको करिब २० फिट गहिरो इनार सफा गर्ने क्रममा बेहोस भएका सोही वडाको ठोटरीखोला निवासी अन्दाजी ४५ वर्षीय मिनबहादुर योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मिनबहादुर योन्जन, उनका २४ वर्षीय भतिज नवीन योन्जन र १७ वर्षीय समिर वाइबाले इनार सफा गर्ने जिम्मा लिएका थिए। सरसफाइका क्रममा मिनबहादुर इनारभित्र प्रवेश गरेका थिए भने अन्य दुई जना बाहिरबाट पानी तान्ने काम गरिरहेका थिए।
इनारभित्र अक्सिजनको कमी भएका कारण मिनबहादुर बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीका अनुसार बेहोस भएका मिनबहादुरको इनारभित्रै मृत्यु भएको हो।
घटनापछि गोरखबहादुर गण सुपारेटार ब्यारेकबाट ११ सदस्यीय नेपाली सेनाको उद्धार टोली तथा प्रहरी घटनास्थल पुगेका थिए। उद्धार टोलीले इनारभित्र प्रवेश गरी मिनबहादुरलाई बाहिर निकाले पनि उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

