रास्वपा म्याग्दीको नेतृत्वमा पुनः युवराज रोका, प्रथम जिल्ला अधिवेशनबाट नयाँ समिति सर्वसम्मत
बेनी,जेठ २४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
शनिबार बेनीमा सम्पन्न अधिवेशनले उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापालाई सर्वसम्मत रूपमा चयन गरेको हो। त्यसैगरी सदस्यहरूमा सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री चयन भएको रास्वपा म्याग्दीका नेता सरोकुमार बानियाँले जानकारी दिनुभयो। नवनिर्वाचित सभापति रोका यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारीमा रहनुभएको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका गण्डकी प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमले देशको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि जनताले रास्वपालाई ठूलो जनमत दिएको बताउनुभयो। उहाँले भ्रष्टाचार, बेथिति र विकृतिको अन्त्य गरी सुशासन कायम गर्न जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
गौतमले जनताले परिवर्तनको अपेक्षासहित मत दिएको भन्दै राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न नसके आगामी निर्वाचनमा जनताले फेरि नयाँ विकल्प रोज्न सक्ने चेतावनी दिनुभयो।
उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई जनसेवामा समर्पित भई आगामी प्रदेश र स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र पार्टीका गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो। संघीय सरकारमा पार्टीको नेतृत्व रहेकाले प्रदेश र स्थानीय तहमा पनि पार्टीलाई विजयी बनाउन सके मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा अघि बढाउन सहज हुने उहाँको भनाइ थियो।
अधिवेशनमा जिल्लास्तरका अन्य नेता तथा कार्यकर्ताले समेत आफ्नो धारणा राखेका थिए।

