एक मतको अन्तरले रास्वपा कास्की सभापतिमा यदुनाथ अधिकारी विजयी



पोखरा, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पछि पार्दै अधिकारी विजयी हुनुभएको हो।

निर्वाचन परिणामअनुसार अधिकारीले ११५ मत प्राप्त गर्दा न्यौपानेले ११४ मत पाउनुभएको थियो। अधिवेशनमा कुल २९० मतदाता रहेकामा २३३ मत खसेको थियो। सभापति पदमा चार मत भने कुनै पनि उम्मेदवारको पक्षमा नपरेको जनाइएको छ।

यसैगरी, सचिव पदमा विश्वराज पौडेल निर्वाचित हुनुभएको छ। १३ सदस्यीय जिल्ला कार्यसमितिको उपसभापतिमा चिनबहादुर गुरुङ र सहसचिवमा पूजन बस्ताकोटी निर्विरोध चयन हुनुभएको थियो। खुला चार सदस्य पदका लागि भने १० जनाबीच प्रतिस्पर्धा भएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री खड्कराज (गनेस) पौडेलले आगामी निर्वाचनमा रास्वपाले स्थानीय तह र प्रदेशमा दुई तिहाइभन्दा बढी स्थान जित्ने दाबी गर्नुभयो। उहाँले प्रदेश र स्थानीय तहमा उल्लेखनीय सफलता हासिल गरेपछि राष्ट्रियसभामा समेत पार्टीको बलियो उपस्थिति बन्ने विश्वास व्यक्त गर्नुभयो।

“अबको चार वर्षपछि दुवै सदनमा हाम्रो दुई तिहाइ हुन्छ, संविधान संशोधन गरेर नागरिकका समस्याहरू समाधान गर्ने बाटो पूर्ण रूपमा खुल्छ,” मन्त्री पौडेलले भन्नुभयो।

उहाँले वर्तमान सरकार नागरिकका अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दीर्घकालीन रणनीतिसहित समृद्धिको यात्रालाई अघि बढाइएको बताउनुभयो। विगत ३५ वर्षदेखिका समस्याहरू तत्काल समाधान गर्न नसकिने भए पनि हिमाल, पहाड र तराईका विकास आयोजनामा सरकारले प्राथमिकता दिएको उहाँको भनाइ थियो।

रास्वपा कास्कीका नवनिर्वाचित सभापति यदुनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदहरू उत्तमप्रसाद पौडेल, विना गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्