बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा
खोटाङ,जेठ २४ । खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक बाढीका कारण अवरुद्ध भएको दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले करिब २५ मिटर सडक क्षति पुर्याउँदै यातायात अवरुद्ध बनाएको थियो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको संयुक्त प्रयासमा सडक खुलाइएपछि भोजपुर–दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेल–भोजपुर रुटका सवारीसाधन सञ्चालनमा आएका छन्।
पङ्खुखोलामा पक्की पुल निर्माणको काम लामो समयदेखि अधुरो रहेकाले सवारीसाधन खोलाबाटै वारपार गर्नुपर्ने अवस्था रहेको छ।

