खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
उदयपुर,जेठ २४ । उदयपुरमा जेठको पहिलो सातादेखि अत्यधिक गर्मी र लामो सुक्खा खडेरी परेपछि धान रोपाइँका लागि तयार पारिएको ब्याड सुक्न थालेको छ । असार–साउनमा हुने रोपाइँका लागि राखिएको धानको ब्याडमा चिरा पर्न थालेपछि किसान चिन्तित बनेका छन्।
जिल्लाको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रका किसानले राखेको धानको ब्याड खडेरीका कारण प्रभावित भएको बताएका छन्। अत्यधिक गर्मीका कारण ब्याड सुक्दै गएको र धानको बीउ उम्रन समस्या देखिन थालेको किसानहरूको भनाइ छ।
त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरीले ब्याडमा पर्याप्त चिस्यान नहुँदा धानको बीउ उम्रन नसक्ने अवस्था आएको बताउनुभयो। यस्तै त्रियुगा–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहालले जेठ १ गते नै धानको ब्याड राखिए पनि खडेरी बढ्दै जाँदा ब्याडमा चिरा पर्न थालेको र बीउ उम्रने सम्भावना कमजोर बन्दै गएको बताउनुभयो। यसले असार अन्त्यदेखि साउनसम्म हुने रोपाइँ प्रभावित हुन सक्ने उहाँको चिन्ता छ।
त्रियुगा–३ भुल्केका किसान दयानाथ भट्टराईले जेठको सुरुदेखिको अत्यधिक गर्मी र सुक्खापनले ब्याडमा क्षति पुर्याएको भन्दै यस वर्ष धानको बीउ उत्पादन र समयमै रोपाइँमा समस्या आउन सक्ने बताउनुभयो। भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांशमा चिरा पर्न थालेको किसान कृष्णप्रसाद फुँयालले जानकारी दिनुभयो।
चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा सामान्यतया असारको तेस्रो सातादेखि साउनको तेस्रो सातासम्म धान रोपाइँ गरिन्छ। त्यसका लागि अधिकांश किसानले वैशाख अन्तिम सातादेखि जेठको पहिलो साताभित्र धानको ब्याड राख्ने गरेका छन्। तर यस वर्षको खडेरीले धान उत्पादन चक्रमै असर पार्ने संकेत देखिएको किसानहरूको भनाइ छ।

