पश्चिमी न्यून चापीय रेखाको प्रभावः विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना



काठमाडौं, जेठ २४ – देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको छ।

ल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

यता मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तापक्रम अनपेक्षित रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ। तापक्रम बढ्ने सम्भावना रहेका तराई क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्