नुवाकोट बट्टारको आइतबारे हाटबजार : स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक चलायमानताको केन्द्र
नुवाकोट,जेठ २४ । नुवाकोटको विदुर नगरपालिका–४ बटारस्थित हावाघर क्षेत्रमा सञ्चालन हुँदै आएको आइतबारे हाटबजार स्थानीय उत्पादनको बजारीकरण, किसानको आम्दानी वृद्धि र उपभोक्तालाई ताजा तथा गुणस्तरीय वस्तु उपलब्ध गराउने प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ।
हरेक आइतबार लाग्ने यस हाटबजारमा जिल्लाका विभिन्न स्थानबाट आएका करिब १५० जना उत्पादकले आफूले उत्पादन गरेका तरकारी, फलफूल तथा हस्तकलाका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन्।
स्थानीय कृषक र उद्यमीले प्रत्यक्ष रूपमा आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउन पाउँदा बिचौलियाको भूमिका घट्नुका साथै उचित मूल्य प्राप्त गर्न सहज भएको छ।
हाटबजारमा प्रत्येक हप्ता करिब दुई हजार उपभोक्ता पुग्ने गरेका छन्। दैनिक उपभोगका लागि आवश्यक ताजा कृषि उपज, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री एकै स्थानमा उपलब्ध हुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।
विदुर नगरपालिका–४ का वडा अध्यक्ष निलम बाबु ढुंगेल का अनुसार आइतबारे हाटबजारमा हरेक साता करिब ८ देखि १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ। उहाँले हाटबजारले स्थानीय किसान, महिला समूह, घरेलु उद्यमी तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याइरहेको बताउनुभयो।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, कृषकलाई बजारको सुनिश्चितता प्रदान गर्ने र गाउँ–समाजको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सञ्चालन भइरहेको आइतबारे हाटबजार पछिल्लो समय नुवाकोटको एक महत्वपूर्ण व्यापारिक तथा सामाजिक केन्द्रका रूपमा विकास हुँदै गएको छ। यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै उत्पादनमुखी गतिविधिप्रति नागरिकको आकर्षण बढाउन पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

