ब्राउन सुगरसहित दुई जना पक्राउ



मोरङ,जेठ २४ । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारमा लुकाइराखेको प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ।

त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्