रास्वपा धादिङको नेतृत्वमा राजन अर्याल निर्वाचित
धादिङ,जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
ज्वालामुखी गाउँपालिकाका अर्याल रास्वपा बागमती प्रदेश कमिटी सदस्यसमेत हुन्। सभापति पदका लागि भएको प्रतिस्पर्धामा उनले १४३ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूयमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरे।
उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत प्राप्त गरेका छन्। त्यस्तै, सचिव पदमा राम भण्डारी १६२ मतसहित निर्वाचित भए। सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन्।सह–सचिव पदमा श्रीराम आचार्य १६० मतसहित विजयी भएका छन्।उनका प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत प्राप्त गरेका छन्।
प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।अधिवेशनमार्फत चयन भएको नयाँ कार्यसमितिले आगामी दिनमा पार्टीको संगठनात्मक विस्तार र स्थानीय स्तरका मुद्दा उठानमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।

