लाङटाङ ट्रेल रन २०२६ सम्पन्न, पर्यटन प्रवर्द्धनमा टेवा
रसुवा,जेठ २४ । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङमा ‘लाङटाङ ट्रेल रन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका धावकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
हिमाली प्राकृतिक सौन्दर्य, स्थानीय सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ११४ जना धावक सहभागी भई निर्धारित मार्गमा प्रतिस्पर्धा गरेका थिए ।
लाङटाङ क्षेत्रको मनोरम प्राकृतिक वातावरणबीच सम्पन्न दौडले खेल पर्यटनको सम्भावना उजागर गर्नुका साथै स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच पुरुष र पाँच महिला धावकलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले लाङटाङको प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण मार्गले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको बताएका छन् ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै लाङटाङ क्षेत्रको पहिचान प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

