सुदूरपश्चिम प्रदेश बजेट तयारी अन्तिम चरणमा, बजेटको आकार घट्न सक्ने



धनगढी,जेठ २४ । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीको अन्तिम चरणमा पुगेको छ। कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले बजेट निर्माणको काम तीव्र रूपमा अघि बढाइएको हो।

आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार सबै मन्त्रालयले बजेट तयारी गरिरहेका छन् भने मन्त्रालयगत रूपमा तयार पारिएको बजेट आर्थिक मामिला मन्त्रालयमा आउन बाँकी रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारको कुल बजेट ३३ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको छ।

राज्यमन्त्री बमले सङ्घीय सरकारबाट प्राप्त हुने बजेट घटेकाले आगामी आर्थिक वर्षमा प्रदेशको बजेट आकार पनि घट्न सक्ने संकेत गर्नुभयो। उहाँका अनुसार अधुरा तथा सम्पन्न हुन बाँकी रहेका योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको छ। “सङ्घबाटै कम बजेट आएकाले प्रदेशको बजेट बढ्ने सम्भावना छैन, बजेटको आकार अघिल्लो वर्षको तुलनामा सानो हुन सक्छ,” उहाँले भन्नुभयो।

प्रदेश सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अधुरा आयोजना सम्पन्न गर्नबाहेक २५ लाख रुपैयाँभन्दा कम लागतका विकास आयोजनामा बजेट विनियोजन नगर्ने व्यवस्था गरिएको छ। यस्ता आयोजना आवश्यक परे वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन गरिने जनाइएको छ।

त्यसैगरी, प्रदेश सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि योजना कार्यान्वयन नगर्ने तथा व्यक्ति, फर्म वा संस्थाको नाममा प्रत्यक्ष बजेट विनियोजन नगर्ने नीति पनि अवलम्बन गर्ने जनाएको छ। केही दिनअघि प्रदेश सभामा सम्बोधन गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ले सबै पक्षको सहभागितामा बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्