प्रमुख सचेतकहरूको बैठक सोमबार बिहान, प्रतिनिधिसभाको कार्यसूचीबारे छलफल हुने



काठमाडौँ, जेठ २४: सभामुख डोलप्रसाद अर्याल ले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली २०८३ लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेकाले सदनको कार्यसूचीबारे छलफल गर्न बैठक बोलाइएको हो।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बस्नेछ।

अहिलेसम्म प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सञ्चालन हुँदै आएको संसद्ले जेठ १७ गते विपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभा नियमावली २०८३ पारित गरेको थियो। त्यसयता विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन सकेको छैन।

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्