श्रीमती हत्या प्रकरण: आरोपित पति ‘नेपाली ब्रो’ भनिने नुवाकोटका कुमार सहित चार जना पक्राउ



काठमाडौं, जेठ २४ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २२ गते राति करिब ९ः३० बजे तारकेश्वर–६ पैयुटार निवासी ३८ वर्षीय ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरले आफ्नी श्रीमतीमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी महिलालाई प्रारम्भिक उपचारका लागि तारकेश्वर सिटी अस्पताल, शेषमती लगिएको थियो। त्यसपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मुख्य आरोपी कुमार थापा मगरलाई सोही राति करिब ११ बजे पक्राउ गरिएको थियो। साथै घटनामा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि जेठ २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर–६ पैयुटार बस्ने ३८ वर्षीय कुमार थापा मगर, सोही गाउँपालिका–४ घर भई तारकेश्वर–५ पैयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।

प्रहरीले चारै जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको छ।काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्