समसामयिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं, असार २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक आयोजना गरिएको छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ।

महामन्त्री बुर्लाकोटीले सर्वदलीय बैठकसम्बन्धी सूचनासहितको औपचारिक आमन्त्रण प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको जानकारी दिनुभयो।

रास्वपाले पछिल्लो राजनीतिक अवस्था, संसद्को भूमिका तथा अन्य समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्