कक्षा १ मै रोकिन्छन् १६ प्रतिशत विद्यार्थी
काठमाडौँ, जेठ २५ – विद्यालय शिक्षामा सरकारले ठूलो लगानी गरे पनि कक्षा १ मा भर्ना भएका १६ प्रतिशत विद्यार्थी सोही कक्षामा दोहोरिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १ मा भर्ना भएका १०० विद्यार्थीमध्ये कक्षा २ सम्म पुग्दा ८० जना मात्र बाँकी रहने गरेका छन्, जसमा १६ जनाले कक्षा दोहोर्याउने र चार जनाले पढाइ छाड्ने गरेका छन्।
कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू भए पनि दोहोरिने दर उच्च रहेको देखिएको छ। कक्षा ८ मा १२.६ प्रतिशत विद्यार्थीले कक्षा दोहोर्याउने गरेका छन् भने अन्य कक्षामा पनि दोहोरिने दर उल्लेख्य छ।
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले प्रारम्भिक बाल विकास (ईसीडी) को अनुभवबिना कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या धेरै भएकाले दोहोरिने दर बढेको बताउनुभयो। हाल कक्षा १ मा भर्ना हुनेमध्ये ७७.५१ प्रतिशतले मात्र ईसीडी अनुभव प्राप्त गरेका छन्।
मधेश प्रदेशमा ईसीडी अनुभवबिना विद्यालय भर्ना हुने विद्यार्थी सबैभन्दा बढी ३२ प्रतिशत छन् भने गण्डकी प्रदेशमा यो दर १४ प्रतिशत मात्र रहेको छ। सरकारले शासकीय सुधार कार्यसूचीअन्तर्गत कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गर्ने तयारी गरेको छ।

