कम्बोडियामा अवैध रूपमा बसिरहेका नेपालीलाई १२ जुनभित्र स्वदेश फर्किन दूतावासको आग्रह
काठमाडौँ, जेठ २५— थाइल्याण्डका लागि नेपाली दूतावासले कम्बोडियामा कानुनी आधारबिना लुकिछिपी बसिरहेका नेपाली नागरिकलाई आगामी १२ जुन (जेठ २९) भित्र नेपाल फर्किन आग्रह गरेको छ।
दूतावासले आइतबार जारी गरेको सूचनामा विभिन्न प्रलोभनमा परी भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका नेपाली नागरिक नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ पर्न सक्ने तथा कडा कानुनी कारबाहीको सामना गर्नुपर्ने जनाएको छ।
दूतावासका अनुसार कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना मिनाहा गरी ६०२ जना नेपाली नागरिकलाई स्वदेश फर्किन सहजीकरण गरेको थियो। तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा कतिपय नेपाली नागरिकले हालसम्म नेपाल फर्किन आवश्यक तदारुकता नदेखाएको पाइएको छ।
दूतावासले तोकिएको समयभित्र स्वदेश नफर्कने विदेशी नागरिकमाथि कम्बोडियाको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन काराबाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।
दूतावासले सम्बन्धित नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकट व्यवस्था गरी १२ जुनभित्र नेपाल फर्किन तथा परिवारजन र आफन्तलाई पनि आफ्ना प्रियजनको स्वदेश फिर्ताका लागि पहल गर्न अनुरोध गरेको छ।

