ब्रेक फेल हुँदा बस–ट्रक ठोक्किए, ७ यात्रु घाइते
नवलपरासी (पश्चिम), जेठ २५ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
आज बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६८२३ नम्बरको बसको ब्रेक फेल भएपछि अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा बसमा सवार सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दाङको तुल्सीपुर–२ निवासी १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ। अन्य छ जनाको मुख, नाक र निधारमा सामान्य चोट लागेको बताइएको छ।
सबै घाइतेको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

