साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग



काठमाडौं,जेठ २५– नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ। टोल शुल्क संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको र कर्मचारीलाई तालिम दिने कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो।

हाल आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। सुरुङमार्ग सञ्चालनका लागि १५० कर्मचारी नियुक्त गरिएको छ भने उनीहरूलाई सिफ्ट प्रणालीमार्फत परिचालन गरिनेछ।

मुख्य सुरुङमार्गको लम्बाइ २,६८८ मिटर र आपत्कालीन सुरुङको लम्बाइ २,५५७ मिटर रहेको छ। दैनिक करिब ८ हजार सवारीसाधन सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको आयोजनाले जनाएको छ।सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारको जिम्मा सेवा प्रदायक युसिन–एआरटी जेभीलाई आगामी पाँच वर्षका लागि दिइएको छ।दैनिक अनुमानित सवारी चापका आधारमा वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क संकलन हुने र त्यसबाट वार्षिक २२ करोड रुपैयाँ सेवा प्रदायकलाई उपलब्ध गराइनेछ।

यसैबीच, राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले सुरुङमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गर्दै निर्माणका क्रममा हासिल भएको सीप र अनुभव अन्य पूर्वाधार आयोजनामा समेत उपयोग गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्