सुदूरपश्चिम सरकारमा काँग्रेसका ५ जना थपिए, मन्त्री–राज्यमन्त्रीले लिए शपथ



धनगढी,जेठ २६ — सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त उनीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ।

नवनियुक्त मन्त्रीमध्ये बिक्रमसिंह धामीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। बेलबहादुर रानाले सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

त्यसैगरी, जुना दानी आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारती सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

काँग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ। नयाँ नियुक्तिसँगै काँग्रेसको असन्तुष्ट पक्षले पनि प्रदेश सरकारमा प्रतिनिधित्व पाएको छ।

मन्त्रिपरिषद् विस्तारपछि प्रदेश सरकारको कामकारबाही थप प्रभावकारी र गतिशील हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्