मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणको आग्रह



काठमाडौँ, जेठ २६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले सम्भावित मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा जुट्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

सोमबार सिंहदरबारमा आयोजित विषयगत क्षेत्रका नेतृत्वकर्ता तथा सहनेतृत्वकर्ता मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइराला ले जिम्मेवारीअनुसारका कार्य प्रभावकारी रूपमा कार्यान्वयन भए मनसुन पूर्वतयारी थप सुदृढ हुने बताउनुभयो।

छलफलमा विभिन्न मन्त्रालय तथा सङ्घसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा भइरहेको तयारीबारे जानकारी गराएका थिए। गृह मन्त्रालयका सहसचिव तथा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी ले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो।

प्राधिकरणका अनुसार स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत ११ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ। यसअघि तयार पारिएको विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजनाअनुसार यस वर्ष करिब ५१ हजार परिवारका दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने आकलन गरिएको छ।

कार्यकारी प्रमुख कोइरालाले उक्त आकलनलाई आधार मानेर सबै विषयगत समितिहरू तयारी अवस्थामा रहनुपर्नेमा जोड दिँदै यस वर्ष मनसुनमा तुलनात्मक रूपमा कम वर्षा र बढी गर्मी हुने अनुमान गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्