हाइटेन्सन लाइनमुनि बढ्दै अवैध घर, दुर्घटनाको जोखिम उच्च
काठमाडौं,जेठ २६ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हाइटेन्सन विद्युत् प्रसारण लाइनमुनि नक्सा पारित नगरी घर तथा अन्य संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दो पाइएको छ। कानुनले यस्ता क्षेत्रमा निर्माण निषेध गरे पनि जग्गाधनीको अटेरी, कमजोर अनुगमन र नियामक निकायको ढिलासुस्तीका कारण जोखिमपूर्ण संरचना विस्तार हुँदै गएका छन्।
काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि निर्माण भएका संरचनाको नक्सा पारित नगरेको जनाएको छ। महानगरले यस्ता अवैध संरचना हटाउने अभियान जारी रहेको र आगामी दिनमा थप क्षेत्रका संरचना हटाइने जनाएको छ।
चाबहिल, बालाजु, कोटेश्वर, कलंकी, माकलबारी, मूलपानी, भैँसेपाटी, इमाडोल, सूर्यविनायकलगायत उपत्यकाका धेरै क्षेत्रमा प्रसारण लाइनको मार्गाधिकार क्षेत्रभित्र घर, टहरा र व्यावसायिक भवन निर्माण भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनको भोल्टेजअनुसार तोकिएको ‘राइट अफ–वे’ क्षेत्रभित्र कुनै पनि स्थायी संरचना बनाउन पाइँदैन। तर मुआब्जा लिइसकेपछि पनि धेरै जग्गाधनीले घर निर्माण गरेको पाइएको छ। प्राधिकरणले पटक–पटक चेतावनी र सूचना जारी गरे पनि समस्या नियन्त्रण हुन सकेको छैन।
विशेषज्ञहरूले हाइटेन्सन लाइनमुनिका संरचनाले करेन्ट लाग्ने, विद्युत् ‘आर्क’ हुने तथा तार चुँडिँदा ज्यानै जाने जोखिम बढाउने बताएका छन्। जोखिमपूर्ण संरचना हटाउन प्राधिकरण र स्थानीय तहको प्रभावकारी समन्वय तथा कडा कार्यान्वयन आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

