बढ्दो चिन्ता : नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै



काठमाडौँ, जेठ २६ — नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ। गत वर्ष देशभर करिब तीन हजार बिरामीको ब्रेन ट्युमर शल्यक्रिया गरिएको तथ्याङ्कले देखाएको छ, जसमा पुरुष बिरामीको सङ्ख्या महिलाभन्दा बढी रहेको छ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिमा यो समस्या बढी देखिएको छ। वीर अस्पतालमा दैनिक चार जना ब्रेन ट्युमरका बिरामी शल्यक्रियाका लागि आउने गरेका छन् भने न्युरो विभागको ओपिडीमा दैनिक करिब ८० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन्।

ब्रेन ट्युमरका प्रमुख लक्षणमा लगातार टाउको दुख्ने, रिङ्गटा लाग्ने, दृष्टि कमजोर हुने तथा शरीरका केही भागमा कमजोरी महसुस हुनु रहेका छन्। मदिरा र सुर्तीजन्य पदार्थको सेवनलाई पनि जोखिम कारकका रूपमा लिइएको छ।

नेपालभरका २० भन्दा बढी न्युरो उपचार केन्द्रबाट सङ्कलित तथ्याङ्कअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी, ३६.४ प्रतिशत ब्रेन ट्युमर बिरामीको शल्यक्रिया गरिएको छ। डा. झाका अनुसार रोगको प्रारम्भिक पहिचान र समयमै उपचार गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिन्छ।

वरिष्ठ न्युरो विशेषज्ञ डा. वसन्त पन्तले निरन्तर टाउको दुख्ने, बिहान उठ्नेबित्तिकै वान्ता हुने, श्रवणशक्ति कमजोर हुने, छारे रोगका लक्षण देखिने वा शरीरका कुनै भागमा पक्षघात हुने जस्ता संकेतलाई बेवास्ता नगर्न आग्रह गर्नुभयो। यस्ता लक्षण देखिए तत्काल विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्ने उहाँको सुझाव छ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राख्दै ब्रेन ट्युमरका बिरामीलाई उपचार खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ।

यस वर्षको विश्व ब्रेन ट्युमर दिवस ‘प्रारम्भिक पहिचानबारे जनचेतना अभिवृद्धि तथा रोग निदानमा हुने ढिलाइ न्यूनीकरण’ भन्ने मूल नारासहित मनाइएको छ। चिकित्सकहरूले जनचेतना, समयमै परीक्षण र उपचार पहुँच विस्तार गर्न सके ब्रेन ट्युमरबाट हुने जटिलता तथा मृत्यु दर घटाउन सकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्