एक तहमा चुनाव हारे अर्को तहमा उम्मेदवार बन्न नपाइने प्रस्ताव



काठमाडौं,जेठ २६। निर्वाचन आयोगले संघ, प्रदेश वा स्थानीय तहको निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही पदको कार्यकालभर अन्य तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ।

निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि तयार पारिएको विधेयकको मस्यौदामा पराजित उम्मेदवारलाई उपनिर्वाचनबाहेक अन्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाउने व्यवस्था गरिएको हो। आयोगले मस्यौदा स्वीकृत गरी गृह मन्त्रालयमा पठाइसकेको जनाएको छ।

प्रस्तावअनुसार निर्वाचन खर्च विवरण नबुझाउने व्यक्तिले छ वर्षसम्म चुनाव लड्न नपाउने, अर्को दलमा जानुअघि पुरानो दलबाट राजीनामा दिनुपर्ने तथा समानुपातिक प्रणालीबाट दुई पटक निर्वाचित व्यक्ति पुनः सोही प्रणालीमा उम्मेदवार बन्न नपाउने व्यवस्था पनि राखिएको छ।

यस्तै आयोगले राष्ट्रपति, उपराष्ट्रपति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निश्चित समयसीमाभित्र गराउने गरी निर्वाचन मिति निर्धारण गर्ने अधिकारसमेत आफूलाई दिनुपर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्