गृहमन्त्री गुरुङद्वारा राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय
काठमाडौं, जेठ २६ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघि भएको नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मंगलबार साँझ गृह मन्त्रालयमा पदबहाली गर्दै गृहमन्त्री गुरुङले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे थप अनुसन्धान अघि बढाउने निर्णय गर्नुभएको हो।
पदबहालीका क्रममा उहाँले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभएको छ।
त्यसैगरी गृह मन्त्रालय तथा सुरक्षा निकायभित्र हुने सूचना चुहावट नियन्त्रणका लागि विशेष संयन्त्र निर्माण गर्ने निर्णय गरिएको छ।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप प्रभावकारी बनाउने निर्णयसमेत गर्नुभएको छ।यसमार्फत ठूला तथा चर्चित मुद्दाका फाइल पुनः खोल्ने र अनुसन्धानलाई तीव्रता दिने घोषणा उहाँले गर्नुभएको छ।

