विज्ञान तथा प्रविधिको विकासलाई तीव्र गति दिने मन्त्री पुनको प्रतिबद्धता
काठमाडौं,जेठ २६ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ।
पदभार ग्रहणपछि मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रको काम सुस्त गतिमा हुन नसक्ने बताउनुभयो। “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो,” उहाँले भन्नुभयो।
मन्त्री पुनले आफू लामो समय मन्त्री पदमा नबस्ने उल्लेख गर्दै सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा रहने बताउनुभयो।
उहाँले आफ्नो कार्यकालमा विज्ञान तथा प्रविधि क्षेत्रको बलियो आधार तयार गरी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो। मन्त्रालय नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आवश्यक नीति तथा नियम निर्माणमा जोड दिने उहाँको भनाइ छ।
“मन्त्रालय र मन्त्री दुवै नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्नेछ, नयाँ नियम बनाउनुपर्नेछ,” मन्त्री पुनले भन्नुभयो।

