पञ्चकन्या गाउँपालिकामा विकास निर्माण आयोजनाको स्थलगत अनुगमन
नुवाकोट,जेठ २६ —जिल्लाको पञ्चकन्या गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विकास निर्माण आयोजनाहरूको आज स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।
बुढिशेरा–फुर्केसल्ला–नेवारपानी–सोह्रमाने हुँदै गाउँपालिका कार्यालय जोड्ने सडक स्तरोन्नति कार्य, साथै वडा नं. ५ र वडा नं. १ का वडा कार्यालय भवन निर्माणसम्बन्धी आयोजनाहरूको प्रगतिबारे अनुगमन गरिएको हो।
अनुगमनका क्रममा वडा नं. १ को वडा कार्यालय भवन निर्माण कार्यको समेत निरीक्षण गरिएको थियो। निर्माण कार्यको गुणस्तर र प्रगतिका विषयमा सरोकारवालासँग छलफल गर्दै सुधारात्मक सुझावहरू दिइएको जनाइएको छ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक बिमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, सम्बन्धित वडाका वडा अध्यक्षहरू माधव प्रसाद सिटौला र माहानन्द ढकाल, प्राविधिक शाखा प्रमुख हेमराज पौडेल, फिल्ड प्राविधिकहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाले विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्न तथा गुणस्तरीय निर्माण सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

