१० महिनामा १९ खर्बभन्दा बढी विप्रेषण भित्रियो
काठमाडौं, जेठ २७ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशमा रहेका नेपालीहरूले नेपालमा रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण (रेमिट्यान्स) पठाएका छन्।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि १३ दशमलव ३ प्रतिशत रहेको थियो।
गत वैशाख महिनामा मात्रै रु दुई खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण वृद्धि दर १० दशमलव ६ प्रतिशत रहेको थियो।
विप्रेषण आप्रवाहमा भएको उल्लेखनीय वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

