पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङद्वारा महत्वपूर्ण निर्णय
काठमाडौं,जेठ २७ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि उहाँले नेपाली नागरिकको अपमान तथा चरित्र हत्या गर्ने गतिविधिप्रति गृह मन्त्रालय गम्भीर र संवेदनशील रहने बताउनुभयो।
मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ। साथै, विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।
उहाँले गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन कडा निगरानी र कारबाहीको व्यवस्था गर्ने तथा सुरक्षा निकायमा ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलान्स टिम (एसआइभीटी)’ गठन गरिने जानकारी दिनुभयो।
त्यसैगरी, नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई थप सशक्त र प्रभावकारी बनाउने, प्रक्रियामा रहेका अनुसन्धानका फाइल शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने तथा जघन्य आर्थिक, सङ्गठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धानका लागि विशिष्टीकृत समूह गठन गर्ने निर्णय पनि मन्त्री गुरुङले गर्नुभएको छ।
पदभार ग्रहणसँगै मन्त्री गुरुङले गृह प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

