विज्ञान तथा प्रविधिको विकासलाई तीव्र गति दिने मन्त्री पुनको प्रतिबद्धता
काठमाडौँ, जेठ २७। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले विज्ञान तथा प्रविधिको विकासलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मंगलबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान तथा प्रविधिको क्षेत्रलाई सुस्त गतिमा नभई निरन्तर मेहनत र सक्रियताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले विज्ञान र प्रविधिको काम रातदिन गरेर अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
मन्त्री पुनले आफू लामो समयसम्म मन्त्री पदमा नरहने पनि स्पष्ट पार्नुभयो। सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू बढीमा तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने सोच रहेको उहाँले बताउनुभयो।
आफ्नो कार्यकालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको बलियो आधार तयार गरी नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको मन्त्री पुनको भनाइ छ। उहाँले मन्त्रालय नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आवश्यक नीति, नियम तथा संरचना निर्माणमा जोड दिने बताउनुभयो।
मन्त्री पुनले विज्ञान तथा प्रविधिको विकासमार्फत देशको समग्र प्रगति र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने दिशामा मन्त्रालयले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

