पूर्वतर्फ सर्‍यो वर्षा प्रणाली, सतर्कता अपनाउन आग्रह



काठमाडौं,जेठ २७ । देशका विभिन्न प्रदेशमा गएराति मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भएको हो।

विभागका मौसमविद् रोजन लामिछानेले वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको जानकारी दिँदै मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित विभिन्न तराई तथा पहाडी क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्