प्लास्टिक प्याकेजिङले बढायो स्वास्थ्य जोखिम
काठमाडौं,जेठ २७ । खाद्यवस्तु प्लास्टिकमा प्याकेजिङ गर्ने बढ्दो प्रचलनले जनस्वास्थ्यमा जोखिम बढाएको विज्ञहरूले बताएका छन्।
कम गुणस्तरका प्लास्टिक तथा उच्च तापक्रममा राखिएका खाद्यवस्तु सेवन गर्दा उच्च रक्तचाप, मधुमेह, क्यान्सर र मुटुरोगजस्ता नसर्ने रोगको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ।
खाद्य वैज्ञानिक जीवनप्रभा लामाका अनुसार रङ्गीचङ्गी तथा गुणस्तरहीन प्लास्टिकबाट रसायन खानेकुरामा मिसिन सक्छ। ‘फुड ग्रेड’ प्लास्टिक प्रयोग गरिए पनि उचित तापक्रम कायम नगरिए स्वास्थ्यमा असर पर्न सक्छ।
विभागका निर्देशक ईश्वरी सुवेदीले तातो वा अमिलो खानेकुरा प्लास्टिकमा राख्नु ‘स्लो प्वाइजन’ जस्तै हुने चेतावनी दिनुभएको छ।विज्ञहरूले प्लास्टिकको सट्टा काँचका बोतल, स्टेनलेस स्टिल तथा माटोका भाँडा प्रयोग गर्न सुझाव दिएका छन्।

