हुरीले १७ घर र दुई गोठमा क्षति
नवलपरासी,जेठ २७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर तथा दुई वटा गोठमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्का का अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उडेका छन् भने केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो। साथै केही कच्ची घरका पर्खाल चर्किएका छन् भने एक घरको ब्लकको पर्खालसमेत भत्किएको छ।
प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ। यस्तै मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ।
प्रहरीका अनुसार कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको छ।केही घरमा रुखका हाँगा खस्दा सामान्य क्षति पुगेको जनाइएको छ।हुरीबाट कुनै मानवीय तथा पशुचौपाया क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ।

