बेगनासतालमा खुला डुङ्गादौड प्रतियोगिता



पोखरा,जेठ २७ । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आजदेखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ।

बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताको उद्देश्य बेगनासतालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रवर्द्धन गर्नुका साथै तालको महत्वबारे जनचेतना फैलाउने र जल दुर्घटनासम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको समितिले जनाएको छ।

समितिका अध्यक्ष नवराज बाँस्तोलाका अनुसार पुरुषतर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ। महिलातर्फको दौड डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने प्रतियोगिताले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ।

निर्णायक समितिका संयोजक रविराज कँडेलका अनुसार महिला तथा पुरुष दुवै विधामा प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ, तृतीयले पाँच हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रत्येक टोलीमा तीन जना डुङ्गा चालक रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्