नुवाकोट पञ्चकन्याका विद्यालयमा शनिबार–आइतबार सार्वजनिक बिदा, कार्यालय समय टिकटक, फेसबुक बन्द



नुवाकोट, जेठ २७ – पञ्चकन्या गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको जेठ २५ गतेको निर्णयअनुसार अब विद्यालयहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ।

गाउँपालिकाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल राजपत्रमा प्रकाशित सूचना तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका परिपत्रका आधारमा उक्त व्यवस्था लागू गरिएको जनाएको छ। अर्को निर्णय नभएसम्म दुई दिने बिदा कायम रहने र स्वीकृत पाठ्यक्रमले निर्धारण गरेको कार्यघण्टा मिलाएर शिक्षण–सिकाइ सञ्चालन गर्न निर्देशन दिइएको छ।

निर्णयअनुसार शिक्षक तथा कर्मचारी सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेभित्र विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९ बजेदेखि ९:४५ बजेसम्म कक्षागत तथा विषयगत सिकाइ योजना निर्माण, शैक्षिक सामग्री तयारी तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यार्थीको नियमित पठनपाठन समय बिहान ९:४५ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ। विद्यालयले सोही अवधिभित्र सभा, खाजा समय तथा अन्य गतिविधिको व्यवस्थापन गर्नुपर्नेछ। यसैगरी, प्रत्येक दिन अपराह्न ४ बजेदेखि ४:३० बजेसम्म शिक्षकहरूबीच विद्यार्थीको सिकाइ अवस्था, उपलब्धि तथा सुधारका रणनीतिबारे अनिवार्य समीक्षा तथा छलफल सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाले महिनामा एक हप्ता बहुविषयक परियोजना तथा प्रयोगात्मक सप्ताह सञ्चालन गर्न पनि निर्देशन दिएको छ। त्रैमासिक परीक्षा सञ्चालनका दिन परीक्षा सकिएलगत्तै समीक्षा गरी विद्यार्थीलाई पृष्ठपोषण दिनुपर्ने र बाँकी समयमा नियमित शिक्षण–सिकाइ सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

विद्यालयमा शैक्षिक प्रयोजनका लागि उपयोगी इन्टरनेट साइट प्रयोग गर्न सकिने भए पनि फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल विद्यालय समयभित्र प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। त्यसका लागि विद्यालयहरूले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी सम्बन्धित साइटहरूमा पहुँच रोक्ने प्राविधिक व्यवस्था मिलाउनुपर्नेछ।

गाउँपालिकाले अन्य विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार कार्यान्वयन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्