बजेटमाथि संसद्मा बहस सुरु, चार घण्टा सैद्धान्तिक छलफल हुने
काठमाडौं, जेठ २७ — प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले बजेटमाथि सैद्धान्तिक छलफल मात्र हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाबारे विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सामान्य छलफलका लागि चार घण्टाको समय छुट्याइएको छ।
सांसदहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राखिरहेका छन् भने छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ। बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई सुनाउनुभयो। साथै, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन तथा विषयगत समितिहरूमा गरिएको सदस्य हेरफेरलाई सभाले सहमति जनाएको जानकारी गराइयो।
यसैबीच, ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानले तोकेको अवधिभित्र फिर्ता नआएको जानकारी पनि सभामुखले सदनलाई गराउनुभयो। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

