ट्रेड युनियन खारेजसम्बन्धी रिटको सुनुवाइ जेठ २९ मा



काठमाडौं, जेठ २७ — ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा जारी सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। अब उक्त रिटमाथिको थप सुनुवाइ यही जेठ २९ गते हुने भएको छ।

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। यसअघि जेठ २० गते सुनुवाइ प्रारम्भ गरी आजका लागि पेसी तोकिएको थियो।

यसअघि वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदा रायबाझी आदेश भएको थियो। सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने मत राख्नुभएको थियो। तर न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले अपूरणीय क्षति नपुग्ने भन्दै अल्पकालीन आदेश जारी गर्न असहमति जनाउनुभएको थियो।

अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको थियो। नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहालसमेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्