नुवाकोट सूर्यगढीका सबै विद्यालयमा एकै समय तालिका लागू



नुवाकोट, जेठ २७ – सूर्यगढी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै विद्यालयको सञ्चालन समय एकरूप बनाएको छ।

गाउँशिक्षा समितिको यही जेठ २० गते बसेको बैठकको निर्णयअनुसार पालिकाअन्तर्गतका सबै विद्यालयहरू अब प्रत्येक हप्ता सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म सञ्चालन हुने भएका छन्।

विद्यालय सञ्चालनमा एकरूपता कायम गर्ने उद्देश्यले हाललाई अर्को व्यवस्था नभएसम्म उक्त समय तालिका लागू गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र कार्कीले जारी गर्नुभएको पत्रमार्फत सबै विद्यालयलाई निर्णयअनुसार विद्यालय सञ्चालन गर्न तथा गराउन अनुरोध गरिएको छ।

गाउँपालिकाको यो निर्णयले विद्यालय व्यवस्थापन, शैक्षिक गतिविधि सञ्चालन तथा विद्यार्थीको नियमित अध्ययनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्